नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको गणना आज मङ्गलवार राति नै हुने भएको छ । अहिलेसम्म तीन हजार जनाभन्दा धेरैले मतदान गरेका छन् । मतदान सकिएपछि मतगणना सुरु गरेर मध्यरातिसम्म मत परिणाम सार्वजनिक गर्ने कांग्रेस चौधौँ राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डाक्टर सुरेश आचार्यले जानकारी दिए । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको हो । बाँकी तीनै जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन् । पहिलो चरणमा देउवाले सबैभन्दा धेरै दुई हजार दुई सय ५८ मत प्राप्त गर्नुभएको थियो । यस्तै कोइरालाले एक हजार सात सय दुई, निधिले दुई सय ४९, सिंहले तीन सय ७१ र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । उम्मेदवारहरूको समर्थनअनुसार प्रतिनिधिहरूले मत हालेमा सभापति पदमा देउवाको जित निश्चित जस्तै छ । यसैबीच सभापतिबाहेकका अरू पदको मतगणना भने पर्सि बिहीवारदेखि मात्र सुरु गर्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।